


काठमाडौँ । नेपालले ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नेपालमा एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।
नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको ट्वान्टी विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघले जनाएको छ । एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई छनोट चरण पार गरेर आउनेछन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिकी महाद्वीपमा हुने विश्वकपमा स्थान बनाउने छन् । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ । हालै सम्पन्न एसीसी प्रिमियर लिग कपबाट मूलपानी क्रिकेट मैदान प्रयोगमा आएको थियो ।
ट्वान्टी–२० विश्वकपमा पहिलो पटक २० राष्ट्र खेल्दै छन् । एसियासहित अफ्रिका र युरोपबाट २–२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएर आएको १–१ टोलीले अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् ।

अर्थ सन्जाल