

तस्बिर : सिराज खान

बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकाका मदरसा र विद्यालयमा नपुगेरै शिक्षकले तलब बुझ्ने गरेको पाइएको छ । उक्त गाउँपालिकाका विद्यालय र मदरसाको निरीक्षण गर्दा महिनौँसम्म पनि उपस्थित नहुने शिक्षकले तलब बुझिरहेकोलगायतका अन्य विभिन्न अनियमितता पाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको शिक्षा अनुगमन तथा छानबिन समितिका संयोजक कृष्णचन्द्र मौर्यसहितको टोलीले मदरसा र विद्यालयको छड्के अनुगमन गर्दा अधिकांश विद्यालयमा शिक्षकको उपस्थिति नभएको, महिनौँसम्म पनि उपस्थित नभई तलब लिएको, शिक्षकले हप्तौँसम्म हाजिरी नगरेको पाइएको हो ।
अनुगमन तथा छानबिन समितिका संयोजक मौर्यले नरैनापुर–४, जयरामपुर्वामा रहेको मदरसो सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र खाजा व्यवस्थापक रामजी साहु वैशाख महिनामा एक दिन पनि मदरसा नगएको पाइएको रेकर्डमा भेटिएको बताए । उनले चैत महिनामा पनि शिक्षिका जयमती दुई दिन र खाजा व्यवस्थापक रामजी एक दिन मात्रै मदरसा आएको तर मदरसा नगए पनि तलब भने नियमित पाइरहेको बताए ।
यसबारे प्रश्न गर्दा मदरसाका प्रधानाध्यापक इब्राइम खानले उनीहरुलाई बारम्बार सम्पर्क गरेर हाजिर हुन आग्रह गर्दा पनि मदरसामा नआउने गरेको बताए । प्रधानाध्यापक खानले भने, “उहाँहरूलाई हामीले धेरै पटक फोन गरेका छौँ । गाउँपालिकामा पनि निवेदन दिएका छौँ तर पनि उहाँहरू मदरसामा आउनु हुँदैन तर तलब भने उहाँहरूले पाइरहनुभएको छ ।”
त्यस्तै जमुनाहमा रहेको मदरसा गौसुलवरा जामिया अहिले सुन्नतमा अनुगमन टोली पुग्दा प्रधानाध्यापक नै अनुपस्थित थिए भने शिक्षकहरूको हाजिरी रजिस्टर माग्दा आफूहरूलाई थाहा नभएको शिक्षकले जवाफ दिएका थिए । संयोजक मौर्यले हाजिरी रजिस्टर दिन दबाब दिएपछि मात्र शिक्षकले हाजिरी रजिस्टर देखाएको र सो हाजिरी रजिस्टरमा कुनै पनि शिक्षकले वैशाख महिनामा हाजिरीकापी खाली रहेको पाइएको छ ।
अनुगमन टोलीका अनुसार यस्तै बेतिथि वडा नम्बर–४ जमुनाहमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि देखिएको छ । संयोजक मौर्यले अनुगमनका क्रममा उक्त विद्यालयमा पनि प्रधानाध्यापक नभेटिएको र कुनै पनि कक्षाकोठामा शिक्षक उपस्थित रहेको नपाइएको बताएक छन् । गोरखापत्र दैनिकमा समाचार छ।

अर्थ सन्जाल