काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत बैशाख ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईका लागि आवेदन दिने आज (बैशाख २० गते) अन्तिम दिन रहेको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरेको हो । सोमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन्।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना एक बन्दमुखि योजना हो। यसको अवधि १० वर्षको रहेको छ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।




