प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित गर्नुपर्ने बताएका छन् ।
पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डलले भने, ‘‘संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीति, अर्थनीति, शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो, गम्भीर, बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ । सोही छलफलको जगमा अवको राज्य समाजवाद उन्मुख हुनेछ भनिएको हो । समाजवाद उन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन हो । तसर्थ, हामीले यसलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ ।’’
‘‘संविधान र सङ्घीयताको कार्यान्वयनमा हाम्रा बहस छन् । कतिपय शक्ति परिवर्तनका मुद्दा उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन’’, प्रधानमन्त्री प्रचण्डले भने, ‘‘सहकारी आन्दोलनलाई पूँजीवादीकरण गर्ने सोंच पनि समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने विचार र मनोविज्ञानद्वारा निर्देशित छ ।”
प्रधानमन्त्री प्रचण्डले नयाँ सरकारले पूर्णता प्राप्त गरिसकेकाले अब सरकारको सम्पूर्ण ध्यान नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताए । प्रधानमन्त्रीले भने, ‘‘कठिन परिस्थितिमा सरकारको नेतृत्व गरिरहेको छु । चुनौती नै चुनौतीकाबीचसमेत देशका लागि केही गर्न सकिन्छ भन्ने दृढतासहित सरकारको नेतृत्व गरिरहेको छु । यसलाई मैले चुनौतीपूर्ण अवसर भनेको छु ।”
आज वा भोलिमा सरकारले शतप्रतिशत पूर्णता पाउने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अब नीति, कार्यक्रम र बजेटमा केन्द्रित हुने जानकारी दिए । प्रधानमन्त्रीले भने, ‘‘परम्परागत नीति, कार्यक्रम र बजेटले देशका समस्या सम्बोधन गर्न सक्दैन, अर्थतन्त्रका चुनौती पार लगाउन सक्दैन । त्यसैले विगतभन्दा केही नयाँ, विगतभन्दा केही फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजना ल्याउनुपर्छ ।’’




