होटेल कामदार कोठामा मृत फेला

खोटाङमा होटेल कामदार कोठामा मृत फेला परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित सिन्धुलीगढी होटेलमा काम गर्दै आएका झापाको दमक नगरपालिका–१ का निवासी ४४ वर्षीय विनोदप्रसाद निरौला सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

बुधबार दिउँसो १ बजे आराम गर्न भन्दै कोठामा गएका निरौला अबेरसम्म पनि काममा नआएपछि, बोलाउँदा नबोलेको र कोठा नखोलेपछि ढोका तोडेर हेर्दा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।

मृतकको शव बिहीबार पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ । होटेल कामदारको मृत्युका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *