नेशनल माइक्रोफाइनान्स लघुवित्तले वैशाख १५ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा आउँदो वैशाख १५ गते धादिङको धादिङबेसीस्थित धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पारित गर्नेछ ।
कम्पनीले साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ती गरेका कारण लाभांशमा कर छुट हुने भएकाले कर प्रयोजनको लागि नगद लाभांशको व्यवस्था गरेको छैन । संस्थाले यसअघि घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनपछि संशोधन गर्दै १५ प्रतिशत बोनस सेयरमा सीमित गरी साधारण सभामा पेश गर्न लागेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणहरु छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
समिट लघुवित्तसँग मर्जर सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीपत्र र दुवै संस्थाको सम्पति तथा दायित्व मूल्यांकन गर्नको लागि संयुक्त मर्जर समितिद्वारा नियुक्त लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक सभामार्फत पारित हुनेछ ।
सभा प्रयोजनका लागि नेसनलले वैशाख ४ गतेदेखि बुक क्लोज गर्ने भएकाले वैशाख ३ गतेसम्म कायम हुने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।




