काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागका पूर्वकर्मचारी रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घिमिरेविरुद्ध २ करोड १४ लाख रुपैंयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार घिमिरेको वैध आम्दानी ५ करोड २५ लाख रुपैंयाँ मात्र देखिएपछि उनले ७ करोड ३९ लाख रुपैयाँ सम्पत्ति जोडेका छन् । २ करोड १४ लाख ४६ हजार ६५२ रुपैयाँ २४ पैसा गैरकानुनी आर्जन गरेको अख्तियारको दाबी छ ।
घिमिरे गत जेठमा अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा करको दर हेरफेर गरेको आरोप लागेका व्यक्ति हुन् । पूर्वनासु घिमिरेमाथि विमानस्थल भन्सार, राजस्व अनुसन्धान विभाग लगायतका निकायमा बसेर राजस्व छल्ने र गैरकानूनी काम गरी सम्पत्ति कमाएको आरोप छ ।
कात्तिक २०५२ देखि पुस २०७९ सम्म सरकारी सेवामा रहेका उनले गैर कानुनी आर्जन गरेको सम्पत्ति श्रीमती शारदा गौतमको नाममा राखेको भन्दै अख्तियारले उनी विरुद्ध पनि मुद्दा दायर गरेको छ ।




