राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पुनः सर्वोच्च अदालतमा रिट पेश भएको छ । नेपाली राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित परेको रिट दर्ता हुन भने बाँकी छ ।
लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च रिट पेश गरेका हुन् । रिटमा रवि लामिछानेविरुद्ध राहदानीका विषयमा मुद्दा नचल्ने भनी ६ चैतमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरिएको छ ।
त्यस्तै रविले अमेरिकी नागरिक हुँदैमा नेपालको राहदानी कुन कुन समयमा के के प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिकाउन पनि माग गरिएको छ ।
रिट निवेदक युवराज सफलले रवि लामिछानेलाई नेपाली नागरिकको रुपमा राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश पनि माग गरेका छन् ।
१३ माघमा सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नागरिकता ऐन अनुसार प्रक्रिया पूरा गरेर नेपाली नागरिकता नलिएको ठहर गर्दै उनको सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गरेको थियो ।
तर रविले अमेरिकी नागरिक हुँदैमा नेपाली राहदानी बनाएर प्रयोग गरेको र यसरी नेपाली राहदानी लिएर प्रयोग गर्नु कानुन विपरीत हुने प्रश्न उठेको थियो । तर महान्यायाधिवक्ताले रविविरुद्ध मुद्दा नचल्ने निर्णय गरेका थिए ।




