यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा उठ्ने तीन उम्मेदवार घोषणा गरको छ । पार्टी कार्यालय महाराजगञ्जमा आज (शनिबार) एक कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा डा. स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

गत ४ मंसिरको चुनावमा चितवन २ मा रवि नै निर्वाचित भएका थिए । त्यसपछि उपप्रधान तथा गृहमन्त्रीसमेत भएका उनी नागरिकता सम्बन्धी विवादमा दोषी ठहरिएपछि पदमुक्त भएका थिए । सर्वोच्च अदालतले उनको पद खारेज गरेपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो । वाग्ले बिहीबारमात्रै कांग्रेस त्यागेर रास्वपामा पुगेका हुन् । उनी युवा अर्थशास्त्री हुन् ।

यस्तै, रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि बारा २ मा पनि उपनिर्वाचिन हुन लागेको हो । रास्वपाले बारा २ मा प्रहरीका पूर्वमहानिरीक्षक समेत रहेका रमेश खरेललाई उम्मेदवार बनाएको छ । उनी गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *