देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्यायो: स्वर्णिम वाग्ले

उपनिर्वाचनमा कांग्रेसले टिकट नदिएपछि डा. स्वर्णिम वाग्लेले कांग्रेस छाडेका छन् । आफुले पार्टी छोडेको जानकारी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइराला र डा. गोविन्द पोखरेललाई म्यासेज गरि उनले जानकारी गराएका थिए ।

पार्टी परित्याग गरे लगतै वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । पार्टी भित्र ‘देउवा र आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले आफु पार्टीबाट बाहिरिनु परेको कुरा उनले बताएका छन्।

यस्तो छ उनको चिठी 

प्रिय शेखर दाइ, गगनजी, विश्वप्रकाशजी र गोविन्दजी,

हजुरहरूको अपार सदभावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेँ। यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकाले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ।

कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँ–जहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु।
स्वर्णिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *