

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने भएको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार चैत ११ गते साझ ५ बजेसम्म कम्पनीको आईपीओ खरीदका लागि ११ लाख ४८ हजारभन्दा बढीले आवेदन दिएका छन् । यी आवेदकहरूबाट १ करोड २९ लाख ६७ हजारभन्दा बढी कित्ता शेयर खरीद माग भएको हो । जुन कम्पनीले माग गरेको आवेदनको तुलनामा करिब ४ गुणा बढी हो ।
कम्पनीले जारी पूँजी रू. १ अर्ब १२ करोडको १० प्रतिशत दरको ११ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ३९ प्रतिशतले हुन आउने ४३ लाख ६८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली ,कर्मचारी तथा सामूहिक लगानीकोष समेतका लागि विक्री गर्ने गरी नियामक निकायबाट स्वीकृति पाएको थियो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणतर्फको १० प्रतिशत शेयर बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारी , सामूहिक लगानीकोषका लागि शेयर सुरक्षित गरी बाँकी शेयर सार्वजनिक निष्कासन गरेको हो ।
कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको वाहेक ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपि त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि– आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

अर्थ सन्जाल