काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरूले चाहेमा जुनसुकै बेला सत्तारुढ गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् । सत्ता गठबन्धन भत्काउनसक्ने हैसियत एमालेसँग रहेको तर एमाले जिम्मेवार प्रतिपक्षको रुपमा रहने उनको भनाइ छ ।
एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत शुक्रबार जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा पौडेलले भने, ‘जुनसुकै बेला गठबन्धन भत्काउन सक्ने हैसियत एमालेसँग छ तर हामी जिम्मेवार प्रतिपक्ष भएर काम गर्न खोजेका हौं ।’
उपाध्यक्ष पौडेलले अहिलेको सत्ता गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको टिपप्णी गरे । उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने दाबी गरे ।
सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो । यस क्रममा उनले एमाले राष्ट्रिय राजनीतिको मियो रहेको भन्दै एमालेबिना राष्ट्रिय राजनीति एक इन्च पनि अगाडि बढ्न नसक्ने बताएका थिए ।




