हामी इरानमा लगानी गर्न सक्छौं : मोहम्मद अल–जदान

रियाद । साउदी अरबले इरानसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमति जनाएपछि साउदी अरबले इरानमा ‘चाँडै’ लगानी सुरु गर्न सक्ने साउदी अर्थमन्त्रीले बताएका छन् ।मोहम्मद अल–जदानले इरानमा ‘धेरै अवसर’ रहेको र दुई खाडी मुलुकबीच लगानी हुन नदिन आफूले कुनै कारण नदेखेको बताए ।

रियादमा आयोजित वित्तीय क्षेत्रको एक सम्मेलनमा साउदी अरबले इरानमा ‘महत्वपूर्ण’ लगानी गर्न कति चाँडो सुरु गर्न सक्छ भन्ने प्रश्नमा उनले भने, “म यस बिषयमा अहिल्यै होइन, छिट्टै भन्नेछु ।”

“जब मानिसहरू वास्तवमै सहमति भएका सिद्धान्तहरूमा अडिग रहन्छन्, मलाई लाग्छ कि यो चाँडै हुन सक्छ ।”चीनको मध्यस्थतामा साउदी अरब र इरानले दुई महिनाभित्र सम्बन्ध पुनःस्थापना र कूटनीतिक नियोगहरू पुनः सञ्चालन गर्ने दिशामा काम गर्न सहमत भएका छन् ।

सन् २०१६ मा साउदी अरबले एक शिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि हिंसात्मक प्रदर्शन भएको र तेलका लागि धनी मानिने यी प्रतिद्वन्द्वीले सम्बन्ध विच्छेद गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा तेहरान र प्रमुख शक्तिराष्ट्रबीच भएको ऐतिहासिक आणविक सम्झौता त्यागेपछि इरानमाथि अमेरिकी प्रतिबन्ध लगाइएको छ । लामो समयदेखि अमेरिकाको सहयोगी रहेको साउदी अरबले तेललगायत प्रमुख क्षेत्रलाई लक्षित गरी लगाइएको प्रतिबन्धलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *