लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदन’ ले लघुवित्तको संख्या घटेको देखाएको हो ।
२०७९ असारमसान्तसम्ममा ६५ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०७९ पुसमसान्तसम्ममा ६४ वटा कायम भएको छ । ६४ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् ।
लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको देखिएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । अघिल्लो आर्थिक बर्षको दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ७.४४ प्रतिशतले वृद्वि भएकोमा यस आर्थिक बर्षको दोस्रो त्रैमासमा भने ०.३४ प्रतिशतले मात्रै वृद्वि भएको देखिन्छ । समिक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या २.१९ प्रतिशतले वृद्धि भई ५९ लाख ८८ हजार र ऋणी संख्या १.३० प्रतिशतले घटेर ३२ लाख ६० हजार पुगेको छ ।

प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको देखिन्छ । २०७९ पुस मसान्तसम्ममा उक्त प्रदेशमा भएका शाखाको संख्या कुल शाखा संख्याको २३ प्रतिशत (११५५ शाखा) रहेको छ । पहुँचका हिसावले कर्णाली प्रदेशमा लघुवित्त संस्थाको उपस्थिति न्यून रहेको देखिन्छ । उक्त प्रदेशमा कुल शाखा संख्याको ४ प्रतिशत मात्रै शाखाहरु (२३० शाखा) रहेका छन्।





