सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले सेयर कारोबार रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्राचार गरेका छन्। मर्जर प्रक्रिया पूरा गरी भोलि फागुन २९ गतेबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागेको यी दुवै कम्पनीले कारोबार रोक्का राखिदिन नेप्सेमा पत्राचार गरेका हुन् ।
एकीकृत कारोबार प्रारम्भ भएको मितिबाट १५ दिनका लागि सेयर कारोबार रोकिदिन दुवै कम्पनीले नेप्सेसँग आग्रह गरेका छन् । धितोपत्र बोर्डको मर्जर निर्देशिकाबमोजिम मर्जरमा गएका कम्पनीको सेयर मिलान, धितोपत्रको पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का राख्न दुवै कम्पनीले आग्रह गरेका छन्।
यी दुई कम्पनीले सोमबारबाट सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन गर्न लागेका छन् ।
मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको नक्सालमा रहनेछ। सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदानप्रदान अनुपात १००:८० मा मर्ज भएका हुन्। यसका साथै दुवै कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरणपश्चात स्वाप रेसियो गणना गरी मर्जरपश्चात कायम हुने कम्पनीको चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ कायम रहनेछ।







