आत्मनिर्भर लघुवित्त वित्तीय संस्था ले फागुन ११ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ ।
धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलमा आईपीओ बाँडफाँड गरिनेछ। ‘आउँदो आइतबार आईपीओ बाँडफाँड गर्ने तयारी भइरहेको छ, कति बजे भन्ने फिक्स्ड भइसकेको छैन’, सनराइज क्यापिटलका एक अधिकारीले भने, ‘आत्मनिर्भर लघुवित्तका अधिकारीसँग भोलि छलफल गरेर दिन र समय तोक्नेछौँ।’
संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकिएको थियो।
संस्थाले जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १ लाख ६९ हजार ७५५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरेको थियो।
आत्मनिर्भर लघुवित्तमा अन्तिम दिनसम्म १६ लाख ९ हजार बढी आवेदकबाट कुल १ करोड ७८ लाख बढी कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन्।






