आईसीसी विश्वकप लिग टू : पीएनजीविरुद्ध नेपालकाे शानदार जित

आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्युगिनी (पीएजी)विरुद्ध जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार पीएनजीलाई ५२ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

नेपालले दिएको २ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ४५ रन मात्र बनाउन सक्यो ।
पीएनजीका लागि नर्मन भानुवाले ५५ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । भानुवाले ३ चौका र ४ छक्का प्रहार गरे ।

ओपनर टोनी उराले ४४ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । ९ चौका प्रहार गरेका उरा सन्दीप लामिछानेको बलमा आउट भए ।
कप्तान असद भाला ४२ रन बनाउँदै कुशल मल्लको बलमा आउट भए । ओपनर किप्लिन डोरिगा २६ रनमा रन आउट भए ।

राईली हेरुकेले २० रन बनाउँदा चाल्स अमिनीले १४ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

सन्दीपले १० ओभरमा ३७ रन खर्चिएर ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ९ ओभर १ बलमा ३७ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ६० रन खर्चिएर विकेट लिएका हुन् । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । यि दुई बीच १ सय १० रनको साझेदारी भएको थियो ।

भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए । करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए ।

यसै खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पुर्याएका छन् । एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पूरा गर्ने आसिफ दोस्रो नेपाली खेलाडी हुन् । यस अघि कप्तान रोहित कुमार पौडेलले १ हजार रन बनाएका थिए ।

अब नेपालले मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३३ खेलमा ३४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पीएनजी ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *