प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सले वैशाख २ गतेदेखि एकीकृत कारोबार शुभारम्भ गर्ने भएका छन् । मर्जर भएपछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कर्बर सुरु गर्न लागेका हुन्।
प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स १:१:१ सेयर अनुपातमा गाभिने भएका हुन्।
तसर्थ, यी तीन वटै कम्पनीमा १०० कित्ता सेयर हुने सेयरधनीहरूले मर्जर पछि बन्ने कम्पनीको पनि १०० कित्ताकै दरमा सेयर पाउनेछन्।
मर्जरपछि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ। गुराँस लाइका सीइओ विपिन कर्ण र प्राइमका सीइओ निर्मल दाहाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुने छन्।
कम्पनीको मर्जरलगायतको कार्यहरू नियमित गरी कर्मचारी व्यवस्थापन र शाखाहरूको व्यवस्थापन सम्बन्धी कार्यलाई अघि बढाउने र समग्रमा एकीकृत कारोबार यथाशक्य छिटो सुरू गर्ने समेत सहमति भएको बताइएको छ।
हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख, गुराँस लाइफको २ अर्ब ८ करोड र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।मर्जरपछि यी तीन कम्पनीको चुक्ता पुँजी ७ अर्ब ७० करोड रुपैयाँभन्दा बढी पुग्नेछ। प्राधिकरणले तोकेको पुँजि भन्दा बलियो पुँजि सहित कम्पनी खडा हुँदैछ ।






