सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीतिका साथ सरकारले प्रक्रिया अगाडि बढाएको बताएकी छन् ।
महिला स्वास्थ्य सम्मेलनको शुभारम्भ गर्दै उनले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिइन् ।
संविधानमा प्रजनन स्वास्थ्यलाई उल्लेख गर्नु ठूलो उपलब्धि भएको भन्दै उनले अब यसको कार्यान्वयनमा सबै क्षेत्रको गम्भीररुपमा ध्यान जानुपर्ने बताइन् ।
“हामीले प्रजनन स्वास्थ्यलाई मौलिक हक त बनायौँ तर यसको कार्यान्वयन कसरी गर्ने भनेर आम महिलामा लैजान सकेका छैनौँ, अब यसको सचेतनता र कार्यान्वयनमा जोड दिनुपर्छ । यसमा आमसञ्चार तथा सूचना प्रविधिको व्यापक परिचालन गर्ने नीति बनाउनुपर्छ” उनले बताइन् ।
दुई दिनसम्म चल्ने सम्मेलनमा विज्ञका कार्यपत्रमा छलफल हुने र यसबाट महिला स्वास्थ्यसम्बन्धी नीति निर्माण गर्न सहयोग पुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।






