नेपालको व्यावसायिक समूह मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ ।
याेसँगै मुरारका ग्रुप र सोमानीले संयुक्त लगानीमा नेपालमा करिब ३.० मिलियन स्क्वाएर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने छन् ।
काठमाडौंको आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिँदै ग्रुपका म्यानेजिङ डिरेक्टर पशुपति मुरारकाले मुरारका ग्रुप आफ्ना ग्राहकहरूलाई सधै गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेकाे बताए ।
‘यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपुर्ति गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ, साथसाथै नेपाली बजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ,’ उनले भने ।
त्यस्तै, गरी सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवम् सिइओ अभिषेक सोमानीले नेपालको प्रतिष्ठित व्यवसायिक घराना मुरारका ग्रुपसँग सहकार्य गर्न पाउँदा गौरवान्वित भएका बताए ।
सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ ।







