बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको भन्दै डडेल्धुराका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन् । डडेल्धुरा उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योगी, व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नागरिक समाज र उद्योगी व्यवसायीहरूको उपस्थितिमा सोमबार बसेको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । सोही निर्णयका आधारमा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै भोलिदेखि चरणबद्ध आन्दोलन गर्ने जानकारी गराएको हो । डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्टले १६ गतेदेखि देखि १८ गतेसम्म चरणबद्ध आन्दोलन गरिने बताए ।
उनका अनुसार प्रत्येक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने, १७ गते बैंकमा धर्ना दिने, १८ गते कुनै पनि बैंकमा बचत नगर्ने (नो डिपोजिट) र त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय भएको छ ।
लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेपछि बजार नै बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको उनले बताए । चरणबद्ध आन्दोलनबाट पनि समस्याको समाधान नभए थप आन्दोलनका कार्यक्रमसहित अगाडि आउने बताएइको छ । यस्तै डडेल्धुराको शिवशिखर सहकारीले संकलन गरेको निक्षेप नियमअनुसार फिर्ता गर्न र लघुवित्त संस्थाको अनुगमन गर्न पनि माग गरिएको छ ।






