नुवाकोटमा बस दुर्घटना अपडेट: तीनको मृत्यु‚ २३ जना घाइते

नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा २३ जना घाइते भएका छन् ।

बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस बिहीबार अपराह्न विदुर नगरपालिका-१२ चैनपुरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

उनका अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका-३ का बाबुराम नेपाली र विदुर नगरपालिका-६ का रामप्रसाद अर्याल छन् । मृतक अर्की एक जना महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य २३ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको  छ ।

नमस्ते पासाङ ल्हामु यातायात प्रालिमार्फत सञ्चालित उक्त बस चैनपुरस्थित पिपलबोट भन्ने स्थानको उकालोमा यात्रु ओरालेर अघि बढ्ने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उकालोमा अघि बढ्नुपर्ने बसपछि हटेर एक सय ५० मिटर तल पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख मिलनकुमार सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *