माघ २३ गतेदेखि आईपीओ जारी गर्दै सुपरमाई हाइड्रोपावर

सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन ८ गतेसम्म लम्बिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

सुपरमाई हाइड्रोपावरद्वारा प्रबद्र्धित ७.८ मेगावबाटको सुपरमाई जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित १९ करोड ८ लाख ४८ हजार २०५ रुपैयाँ रहेको छ भने आयोजनाको कुल लागत १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रुपैयाँ रहेको छ।

आयोजनाले २०७५ कात्तिक ११ गतेदेखि व्यापारित विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २०७३ फागुन ३० गतेदेखि २१०८ फागुन २९ गतेसम्म रहनेछ। आयोजनाको लगानी फिर्ता हुने अवधि ५.७९ वर्ष रहेको छ भने डिस्काउण्डमा लगानी फिर्ता हुने अवधि ७.२७ वर्ष रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *