सनराइज बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले दोस्रो त्रैमासमा मुख्य सूचकहरुमा खराब प्रदर्शन गरेको छ ।
बैंकको खराब कर्जा बढ्दा नाफा प्रभावित भएको छ । बैंकको वितरणयोग्य मुनाफा पनि ऋणात्मक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) समेत गिरावट आएको रिपोर्टले देखाएको छ ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद नाफा १२.२८ प्रतिशतले घटेर ६५ करोड ३९ लाख रुपैयाँमा खुम्चिएको छ। जबकी गत वर्ष यही अवधिसम्म बैंकले ७४ करोड ५५ लाख नाफा आर्जन गरेको थियो। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ करोड ६१ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
दोस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि १२.९२ प्रतिशतले ९२ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी भने ५९.३० प्रतिशतले बढेर २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ८३ करोड रुपैयाँमा सीमित थियो।
हाल चुक्तापुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७ अर्ब १२ करोड रुपैयाँ सञ्चित छ।
बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा पनि खासै प्रगति गर्न सकेको छैन । समीक्षा अवधिसम्म बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) १.४१ प्रतिशतबाट बढेर ३.३६ प्रतिशत पुगेको छ । सीडी रेसियो ८५.८२ प्रतिशत रहेको बैंकको आधार दर ११.६२ प्रतिशत रहेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ७४ पैसाबाट घटेर १२ रुपैयाँ ९३ पैसा कायम भएको छ।
बैंकको मूल्य अनुपात आम्दानी (पीई रेसियो) १५.७१ गुणा, प्रतिसेयर नेटवर्थ १७०.२३ रुपैयाँ र तरलता अनुपात २४.८२ प्रतिशत रहेको छ।







