

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताएका छन् । उनले सरकारले व्यवसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।
शुक्रबार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले यस्तो बताउका हुन् । उद्योगी व्यवसायीहरुले उठाएका उचित मागलाई सकारात्मक रुपमा लिएको उनले बताए ।
मन्त्री पौडेलले भने, “अहिले नै म यस्तो गर्छु भनेर बोल्दिनँ । तपाईँहरुले उठाएका विषयहरुलाई छलफल गर्छु । व्यवसायीहरुले दिएका उचित सुझाव र सल्लाहलाई ग्रहण गरिने छ । मन्त्रालयमा कामको चाङ लागेका छन् । त्यसले गर्दा महासंघले राखेका माग र सुझावहरुलाई ग्रहण गर्दै व्यवसायीहरुलाई निराश हुन नदिने गरी कोशिश गर्छु ।”
महासंघले बैंकले प्रदान गर्दै आएको बिनाधितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा विनाधितो कर्जा १५ लाखबाट वृद्धि गरेर २५ लाख बनाउन माग गरिएको छ ।
महासंघका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरका कारण व्यवसायीहरु पलायन हुने अवस्था आएको भन्दै बैंकको ब्याजदर एकल अंकमा कायम गर्नुपर्ने माग राखे । भन्सार दरको महँगीका कारण बजार मूल्य बढेकाले घटाउन सुझाव दिँदै उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा सहुलियत दिन माग राखे ।
अर्थ सन्जाल