सरकारी वकिलले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्नुपर्छ, प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पक्षको दबाब र प्रभावमा नपरी काम गर्न आग्रह गरेका छन् ।

सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलनलाई शुक्रवार उद्घाटन गर्दै उनले राज्यको कानूनको पालना गर्ने निकायले कुनै पक्षको दबाब र प्रभावमा नगरी काम गर्न आग्रह गरे ।

‘सरकारी वकिलको कार्यालय कानूनी शासनको प्रवद्र्धन गर्ने महत्त्वपूर्ण निकाय हो,’ प्रधानमन्त्री देउवाले भने, ‘कुनै पनि पक्ष वा विपक्षको दवाव र प्रभावमा परेर काम गर्नु हुँदैन ।’

उनले सरकारवादी मुद्दामा अभियोजन गर्ने सरकारी वकिललाई व्यावसायिक दक्षता अभिवृद्धि गराउन जरुरी भएको र त्यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कायममुकायम प्रधानन्याधीश हरिकृष्ण कार्कीले सरकारी वकिलको अनुसन्धान, अभियोजन वस्तुनिष्ट र वैज्ञानिक हुनुपर्ने बताए ।

‘अनुसन्धान र अभियोजनकर्ताबीच तालमेल हुन जरुरी छ,’ उनले भने, ‘फौजदारीका नयाँ–नयाँ अपराध देखिएका छन्, त्यसका लागि सोचेर काम गर्नुपर्छ तर परम्परागत मान्यताले मात्रै अनुसन्धान प्रक्रिया पुग्दैन ।’

गृहमन्त्री बालकृष्ण खाँडले सरकारी वकिलको व्यावसायिक दक्षताको विकास गरी आधुनिकीकरण र सुविधासम्पन्न बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले पछिल्लो समयमा अपराध नयाँ तरिकाले बढ्दै गएको हुँदा त्यसका लागि प्रविधिमैत्री जनशक्ति विकास र अभ्यास गर्नुपर्नेमा जोड दिए । सरकारले आवश्यक परेको अवस्थामा सहयोग गर्ने उनको भनाइ थियो ।

नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरले सरकारी वकिलबाट सही अभियोजन भए मात्र मुद्दामा सफलता पाइने बताए । उनले विकसित देशमा सरकारी वकिलले ९० प्रतिशतभन्दा बढी सफलता पाउने गरेको उदाहरण प्रस्तुत गर्दै शंकारहित तरिकाले मुद्दा प्रमाणित हुने गरी काम गर्नुपर्ने बताए ।

‘समग्र न्याय क्षेत्रमा सुधार गर्नका लागि सरकारी वकिल, कानून व्यवसायी, तल्लोस्तरदेखि माथिल्लो निकायसम्म सुधार गर्न जरुरी छ,’ अध्यक्ष घिमिरले भने, ‘२० हजार कानून व्यवसायी भएको ‘बलियो कानूनी शैक्षिक केन्द्र’ हुनुपर्ने जरुरी छ ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *