मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम

‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत आज मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमले बालबालिका एवं युवामा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको र आउँदा दिनमा यो कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको राष्ट्र बैंकका उपनिर्देशक डा भागवत आचार्यले बताए ।

यस वर्ष चार ठाँउमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ । यसअन्तर्गत सिन्धुपाल्चोक अघि नुवाकोटमा कार्यक्रम सम्पन्न भएको आचार्यले बताए । आजको कार्यक्रममा करिब एक सय ५० जना सहभागी थिए । आचार्यले वित्तीय कारोबारसम्बन्धी ज्ञान नै वित्तीय चेतना रहेको जनाउँदै यसले मानव जीवनको लागि अपरिहार्य वित्तीय साधन र वित्तीय कारोबारसम्बन्धी चेतना दिन सहयोग पुर्‍याउने बताए ।

वित्तीय पहुँच न्यून भएको नेपालजस्तो मुलुकमा वित्तीय चेतनाको अभिवृद्धि अत्यन्त आवश्यक रहेको उनेले बताए । यस चेतनाले आम जनमानसलाई बैंकिङ तथा वित्तीय सेवाको उपभोगप्रति अभ्यस्त तुल्याउने आचार्यको भनाइ छ । यसबाट सूचना प्रविधिमा भएको तीव्र विकासले वित्तीय बजार र उपकरणमा थपेको जटिलता तथा तिनीहरुमा अन्तर्निहित जोखिमलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने उहाँले बताए ।

यस प्रकारको अत्यावश्यकीय अभियानलाई नेपाल राष्ट्र बैंकको एकल प्रयासबाट मात्र पूर्ण रुपले उपलब्धिमूलक बनाउन सम्भव नहुने भएकाले मुलुकका बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी संस्था, आम सञ्चारका साधनले यस काममा सक्रियता देखाउन विलम्ब गर्न नहुने उहाँले बताए ।

बालबालिकामा विद्यालयतहमै वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउने मूलध्येय यस कार्यक्रमले राखेको हुँदा यसलाई निरन्तरता दिँदै आइएको राष्ट्र बैंकका सहायक निर्देशक प्रितिका लामाले बताउए । वित्तीय चेतना अभिवृद्धि कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक एवं स्थानीयस्तरमा सम्बन्धित सबै लाभान्वित हुने ईन्द्रेश्वरी मावीका विद्यार्थी सुष्मा खड्काले बताए ।

वित्तीय चेतना अभिवृद्धिका लागि विद्यार्थीमार्फत समाजमा सचेतना फैलाउन सजिलो हुने विद्यालयका शिक्षक लेखनाथ भट्टराईले बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *