पाँच जिल्लाका मतपेटिका संकलन गर्न हेलिकोप्टर

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पाँच जिल्लाको सडक यातायात सुविधाको पहुँच नभएका स्थलबाट मतपेटिका तथा निर्वाचन सामग्री सम्बन्धित जिल्ला सदरमुकाम तथा मतगणनास्थल ल्याउन नेपाली सेनाको हेलिकोप्टर प्रयोग भएको छ ।

निर्वाचन आयोगले नेपाली सेनाको युद्ध कार्य निर्देशनालयलाई उपयुक्त हवाई साधनबाट मतपेटिका ढुवानी गर्न जिम्मेवारी दिएपछि सामग्री ल्याउन थालिएको हो । आयोगका अनुसार हुम्लाको अदानचुली गाउँपालिका, चङ्खेली गाउँपालिका, ताँजाकोट गाउँपालिका र सर्केगाड गाउँपालिकाका गरी ३४ वटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्रीहरू जिल्ला सदरमुकाम सर्केगाड बजार तथा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाका नौवटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम नाम्चे ल्याउन हेलिकोप्टर प्रयोग भएको छ ।

यस्तै, बझाङको साइपाल गाउँपालिकाको तीनवटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री एकाङ्कुरी डाँडा ल्याउन, गोरखा जिल्लाको चुमनुम्री गाउँपालिकाका २२ मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम गोरखाबजार ल्याउन हेलिकोप्टर प्रयोग गरिएको छ ।

त्यसैगरी मनाङको नार्पाभूमि गाउँपालिकाको पाँच मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम चामे ल्याउन र सङ्खुवासभाको भोटखोला गाउँपालिकाको चार मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री सदरमुकाम खाँदबारी ल्याउन हेलिकोप्टर प्रयोग भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *