ग्लोबल आइएमई र बीओकेबीच मर्जरका लागि अन्तिम सम्झौता, देशकै ठूलो बैंक बन्दै

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) बीच एकापसमा गाभ्न/ गाभिनका लागि सोमवार अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । दुबै कम्पनीबीच गाभ्ने/ गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकन कर्ताबाट प्राप्त चल/ अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ : १ दुवै कम्पनीका सञ्चालक समितिले अनुमोदन गरेर अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।

मर्जर पश्चात् बैंकको कुल पूँजी कोष ५७ अर्ब रुपैयाँ, चुक्तापूँजी ३५ दशमलव ७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४०० अर्ब रुपैयाँ, कुल कर्जा ३७९ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पूँजी, चुक्तापूँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक दाबी छ ।

नयाँ कम्पनीको नाम ग्लोबल आईएमई बीओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा हाल ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य नै रहनेछन् ।

दुई कम्पनीको मर्जरपश्चात कुल ३८५ ओटा शाखा कार्यालय, ३६७ ओटा एटीएम, २७५ ओटा शाखा रहित बैंकिङ सेवा, ६१ ओटा विस्तारित शाखा कार्यालय, ३ ओटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बिओके देशकै ठूलो बैंक हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *