सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान

बलात्कार अरोपित क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कानुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको हो । अदालको आदेशसँगै उनलाई केन्द्रीय कारागार जगन्नथादेवल पठाइँदै छ ।

नाबालिग बलात्कार अभियोगमा पक्राउ परेका लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले बहस गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा सजाय मागदाबी गरेको थियो । जहाँ १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । अदालतमा पेस गरिएको अभियोगपत्रमा घटना हुँदाका बखत पीडितको नागरिकता प्रमाणपत्रअनुसार उमेर १७ वर्ष २ महिना उल्लेख छ ।

मुलुकी अपराध संहिता व्यवस्था अनुसार लामिछानेलाई कैद र पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने सुझावसहित काठमाडौं प्रहरी वृत्त गौशालाले गत कात्तिक ६ मा सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो ।

लामिछानेले गत भदौ ५ को राति किशोरीलाई होटलमा लगी जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको थियो । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उक्त जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

जाहेरी पर्दा लामिछाने खेलका शिलशिलामा देशबाहिर थिए । उनले त्यसपछि सामाजिक संजालमार्फत आफू निर्दोष रहेको र आफूमाथिको आरोपको समाना गर्न छिट्टै नेपाल आउने बताएका थिए । तर लामो समय उनी सम्पर्कविहीन भएपछि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मार्फत डिफ्यूजन नोटिस जारी गर्यो । त्यसलगत्तै असोज २० मा नेपाल आएका उनलाई विमानस्थलबाटै पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । त्यस अघि नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ क्यानले उनले राष्ट्रिय टिमको कप्तानबाट निलम्बन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *