बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । बीमा गर्दा बीमा गर्ने व्यक्ति (बिमित) र बीमा गरिदिने व्यक्ति (बीमक) बीच लिखित सम्झौता हुन्छ । त्यही सम्झौताका आधारमा बीमा कम्पनीले नोक्सानी बराबरको क्षतिपूर्ति रकम दिन्छ ।
भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । कतिखेर कसलाई के हुन्छ, कसैलाई थाहा हुँदैन । त्यसैले भोलिका दिनमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुने जोखिम अरूलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानुनी विधि वा बीमा कम्पनीसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो । बीमालाई जीवन बीमा, निर्जीवन बीमा र पुर्नबीमा गरी तीन किसिमले छुट्याइएको छ ।
विशेषज्ञका रूपमा सञ्चालितबीमा कम्पनीलाई जोखिमअनुरूप तोकिएको बीमाशुल्क बुझाई बीमायोग्य जोखिम हस्तान्तरण गर्न सकिन्छ । जोखिमलाई बीमाको माध्यमबाट हस्तान्तरण गर्न सकिन्छ । तर, सबै जोखिमलाई बीमा गर्न सकिन्छ भन्ने होइन ।
बीमाका फाइदा
-बीमा गर्दा कुनै पनि व्यक्तिले दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति)लाई कहिलै पनि घाटा हुँदैन ।
-बीमा गर्ने कम्पनिले पनि पुर्नबीमा गर्ने भएका कारण उक्त कम्पनिमा क्षति हुँदा वा उक्त कम्पनि डुवेको अबस्थामा पनि बीमा गर्ने व्यक्तिलाई हानी हुँदैन । पुर्नबीमा भनेको उक्त बीमा कम्पनिको पनि बीमा गरिएको भन्ने हो ।
-बीमा गर्दा भविश्यको सुरक्षा हुने हुँदा यसले उज्वल भविश्यका लागि सहायता गर्दछ । विभिन्न चोरी, हुलदङ्गा आदीको जोखिमबाट बच्नका लागि पनि बीमा गर्नु उपयुक्त मान्निछ ।
-जीवन बीमाको हकमा बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएको अबस्थामा पनि परिवारमा आर्थिक समस्या पर्दैन । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ ।
-आयकर ऐनअनुसार बीमा गरेमा २५ हजार रुपैयाँसम्मको आयमा करछूट हुने व्यवस्था छ । करमा छूट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।
-बीमा गर्दा २ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन ।
-पुर्नजीवन बीमा सम्पत्तिको सुरक्षाका लागि गरिने भएको हुँदा सम्पत्ति हराउला कि ? चोरीएलाकी ? आगलागी होलाकि ? भन्ने जस्ता चिन्ताबाट मुक्त हुने उपाय नै बीमा हो ।
बीमा गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरु :
घटना अनिश्चित हुनुपर्छ
जोखिम हस्तान्तरण गरिएका पक्षहरूमा घट्न सक्ने घटना अनिश्चित हुनुपर्छ । घटना घटिहालेमा पनि क्षति कति परिमाणको हुन्छ सो पनि अनिश्चित हुनुपर्छ । घटना हुने निश्चित छ भने बीमा गर्न मिल्दैन । अर्थात् घटना बीमा गर्ने व्यक्ति वा संस्थाको काबुभन्दा बाहिर हुनुपर्छ । जीवन बीमा गर्नेको कुनै एक दिन मृत्यु हुने निश्चित अवस्था देखिए पनि कुन दिन मृत्यु हुन्छ त्यो अनिश्चित छ । जोखिम अनिश्चित हुनुपर्छ । आफ्नो सम्पत्ति आफैंले जानीजानी आगो लगाउनु बिगार्न र क्षतिपूर्ति माग गर्नु सामाजिक मान्यताविपरीत हुन्छ । सवारी दुर्घटनाबापत चालकलाई सम्बन्धित प्रहरीले गर्ने जरिवाना रकम बीमा क्षतिपूर्ति हुँदैन । तर, तेस्रो पक्षप्रति दायित्वको भने क्षतिपूर्ति हुन्छ ।
मूल्य किटान गर्न सकिने हुनुपर्छ
कुनै पनि क्षतिमा मूल्यको निर्धारण हुनु आवश्यक हुन्छ । घर आगलागी हुँदा, सवारी साधन दुर्घटना हुँदा मर्मत खर्च कति लाग्छ ? सवारी साधन दुर्घटना भई तेस्रो पक्षको मृत्यु भएमा प्रचलित ऐन नियमको व्यवस्थाले कति रकम दिनुपर्ने भयो ? जीवन बीम गरिएको अवस्थामा मृतक भएको विमितले इच्छाएको व्यक्तिले पाउने रकम कति छ ? बीमालेखको रकम कति हो र पाउने क्षतिपूर्ति कति हो ? यस्ता सबै प्रकारका क्षतिहरूलाई मूल्यमा किटान गर्न सक्नुपर्छ । निर्जीवन बीमामा घटना घटेपछि मात्र क्षति मूल्य यकिन हुन्छ तर जीवन बीमामा अग्रिम रूपमा नै मूल्य किटान भइरहेको हुन्छ ।
जनहितविरुद्ध हुनुहुँदैन
बीमाको माध्यमद्वारा जोखिम हस्तारन्तरण गरिँदा आइपर्न सक्ने क्षति वा दायित्व सिर्जना हुने बीमाको विषय वस्तुमा बीमा गर्न प्रस्ताव गर्ने व्यक्तिको आफ्नो बीमायोग्य हित भएको हुनुपर्छ । घटना भएमा हित कायम भएको व्यक्ति वा संस्थाले मात्रै क्षतिपूर्ति पाउनुपर्छ । अन्य व्यक्ति वा संस्थाको सम्पत्ति, आइपर्ने दायित्व तथा अरूको जीवनमा बिमा गर्न मिल्दैन (कुनै–कुनै अपवाद अवस्था बाहेक) यसलाई बीमायोग्य हितका सिद्धान्तसम्बन्धी शीर्षकमा छुट्टै व्याख्या गरिएको छ ।







