काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ वार्सिकोत्सवका अवसरमा सुरु गरेको सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न गरेको छ ।
कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि असोज ३१ गतेदेखि कात्तिक ६ गतेसम्म प्रधान कार्यालयलगायत कम्पनीका विभिन्न शाखाले स्थानिय तहमा एक सातासम्म विभिन्न संस्थागत समाजिक उत्तरदायित्व सम्बन्धित कार्यक्रम गरेर मनाएको छ ।
कम्पनीले यस वर्ष विशेष प्राथमिकतामा राखेको रक्तदान कार्यक्रममा देशभरिका २८ वटा शाखाको आयोजकता मा १०७३ पिन्ट रगत संकलन गर्न सफल भएको छ । डेंगुलगायत विभिन्न भाइरल ज्वरोका कारण धेरै नेपालीहरु अस्वस्थ्य रहेको बेला १०७३ पिन्ट रगत संकलन गर्न सफल हुनु आफ्नै लागि गौरवको कुरा भएको कम्पनीले जनाएको छ । सबै डोनरहरुलाई धन्यवाद ज्ञापन गर्दै कम्पनी यसले रेड क्रस, ब्लड बैंकलगायतका संस्था र आवश्यक पर्ने सबैलाई मद्दत मिल्ने अपेक्षा राखेको छ ।
यसैगरी जनसमुदायमा जीवन बीमा प्रतिको चेतना वृद्धि गर्न निकै अवाश्यक रहेकोले कम्पनीले वार्सिकोत्सवका अवसरमा फेसबुक लाइभमार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता सुरु गर्दै देशभरि ८ वटा स्थानमा बीमा सचेतना सम्बन्धित भव्य सडक र्याली प्रस्तुत गरेको थियो । र्यालीमा देशभर बाट १ हजारभन्दा बढीको सहभागिता थियो ।
यसका साथै कम्पनीले विभिन्न शाखाको आयोजकतामा देशका विभिन्न ११ स्थानमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । ३० वटा विभिन्न पार्क, धार्मिक तथा पर्यटकीयस्थलहरुमा वृहत सरसफाइ लगायत डस्टिबन वितरण गरेको छ । योसँगै केही शाखाले विभिन्न संघसंस्थासँगको सहकार्यमा निःशुल्क आँखा सिविर, दन्त शिविर, सम्पूर्ण (होल बडी) सम्बन्धी परामर्श सेवा लगायतका कार्यक्रम गरी ७०० भन्दा बढीलाई सेवा प्रधान गरेको छ । यसका साथै केहि शाखाले योग शिविर, खाधन्न वितरण, ब्याडमिन्टन प्रतियोगित, ट्राफिक सचेतनालगायतका कार्यक्रमको समेत आयोजना गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रमको समापनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कार्यक्रम सफलतापूर्वक समापन भएकोमा खुशी व्यक्त गर्दै सम्मिलित सबैलाई धन्यवाद ज्ञापन गरे ।
यसका साथै कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको पौडेलले बताए । प्रचलित कानुन, नीति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको उल्लेख गर्दै उनले भने त्यसका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।






