नेपाली बजारमा सुनचाँदीको अभाव

विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तिज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि अभाव देखिएको हो ।

अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । तर सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको माग अनुसार सुनका गहरगहनाहरु दिन नसकेको व्यापारीहरु बताउँछन् ।

उनीहरुले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरुको गुनासो छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरु मारमा रहेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष शाक्यले बजारमा सुनचाँदीका गहरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकहरुको माग अनुसार बजारमा सुनचाँदी दिनसक्ने अवस्था नभएको बताए ।

उनले गत ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमि भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरु मारमा परेको गुनासो गरे । अध्यक्ष शाक्यले तिहारको विशेष गरेर धनतेरसको दिन ५० केजीसम्म सुनका गहनाहरु बिक्री हुने बताए । अध्यक्ष शाक्यले दशैँपछि दैनिक ३० देखि ३५ केजीको हाराहारीमा सुनको कारोबार भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *