मंसिर ४ गते हुनेमा एकै परिवारबाट चार जना उम्मेदवार बनेका छन् । जसमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका सन्तानसहित दाजुभाइका छोराछोरी छन् ।
थापाका छोरा कांग्रेस नेता सुनिलबहादुर थापा सत्तारुढ गठबन्धनबाट धनकुटामा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनकी फुपु इन्दिरा थापा कांग्रेसबाटै समानुपातिकतर्फ प्रदेशसभा सदस्य उम्मेदवार छिन् । इन्दिरा सूर्यबहादुरका बुवा टेकबहादुर थापाका दाजु वसन्तमान सिंह थापाकी छोरी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाका अध्यक्ष कुमार थापा पनि प्रतिनिधिसभा सदस्यकै लागि चुनावी मैदानमा छन् । उनी सूर्यबहादुरका भाइ चकेन्द्रबहादुरका छोरा हुन् । उनी कुनै बेला काका सूर्यबहादुरका राजनीतिक सारथि थिए । उनै कुमार यसपटक काकाकै छोरा सुनिलबहादुरसँगै चुनावी मैदानमा छन् ।

सूर्यबहादुरका हजुरबुवा टेकबहादुरका भाइ कृष्णबहादुर थापाका नाति अर्जुन थापा पनि चुनावी मैदानमा छन् । जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुख रहेका उनी प्रदेशसभा सदस्यतर्फ समानुपातिक उम्मेदवार बनेका छन् । यससँगै गाउँकै पाँच जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पाख्रिवास नगरपालिका–७ का बासिन्दा कांग्रेस नेता सुनिलबहादुर थापासँग ८ नम्बर वडाका बासिन्दा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई पनि चुनावी प्रतिस्पर्धामा छन् । संघीय संरचनाअन्तर्गत साविक मुगा गाविसलाई दुई वडामा विभाजन गरिएको हो ।
उनीहरूबीच यसअघि दुईपटक चुनावी प्रतिस्पर्धा भएको थियो। जसमा उनीहरूले एक/एक पटक बाजी मारेका थिए । यो पटक तेस्रो भिडन्त हो। यी दुई बीचको भिडन्त रोचक हुने विश्लेषण गरिएको छ । अन्नपूर्ण पोष्टबाट







