सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मेसिन हस्तान्तरण

सिद्धार्थ बैंक लिमिटेडले आज शुक्रबार विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मेसिनहरु हस्तान्तरण गरेको छ।

बैंकका सञ्चालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले ती मेसिन कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई हस्तान्तरण गरेका हुन्।

कोशी अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा भीम घिमिरे, सुरेश शर्मा, जगदिश प्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतानलगायतका वरिष्ठ उद्योगपति एवं समाजसेवीहरु र बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, प्रदेश प्रमुख कमल बस्नेतलगायत अन्य प्रतिनिधिहरु तथा अस्पतालका प्रतिनिधिहरुको समेत उपस्थिति थियो।

ती हेमोडायलाइसिस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने बिरामीहरुको उपचारका लागि प्रयोग गर्नेछ। बैंकले पुर्याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरुलाई डायलाइसिस सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

कार्यक्रममा कोशी अस्पतालका मेसु डा यादवले हेमोडायलाइसिस मेसिनको उपयोगिता, प्रयोग र आवश्यकताबारेमा चर्चा गरेका थिए। उनले बैंकद्वारा हस्तान्तरण गरिएका डायलाइसिस मेसिनहरुको अधिकतम उपयोग गरिने प्रतिबद्धतासमेत व्यक्त गरे।

बैंकले विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको बारेमा बैंक सञ्चालक नरेन्द्रकुमार अग्रवालले जानकारी गराएका थिए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेकोसमेत बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *