नेपाली उपभोक्ता संरक्षण महासंघले आम नेपाली उपभोक्ताको तर्फबाट भष्ट्राचार, कालोबजारी, मूल्यवृद्धि लगायत नियन्त्रण गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । महासंघले भष्ट्राचार, कालोबजारी, मूल्यवृद्धि लगायत नियन्त्रण गराउन काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित ध्यानाकर्षण गराएको हो ।
देशमा ठूलाठूला राजनीतिक परिवर्तन भएको कयौँ वर्ष बित्दा पनि आम उपभोक्ताका जीवनस्तरमा समय सापेक्ष परिवर्तन नभएको भन्दै यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
महासंघले ज्ञापनपत्रमा भनेको छ ‘देशमा ठूला ठूला राजनीतिक परिवर्तन भए । व्यवस्था बदलियो । कयौँ वर्ष व्यतित भयो । यो समयमा अन्य देशका जनताले आर्थिक फड्को मारे । तर हाम्रो देशमा राजनीतिक नेता तथा मुट्ठीभर व्यवसायी बाहेक आम नेपाली उपभोक्ताका जीवनस्तरमा समय सापेक्ष परिवर्तन हुन सकेन ।’
कालोबजारी, भ्रष्टाचार, कुशासन, गुणस्तरहिन सेवा, अखाद्य-विषादी खाद्य पदार्थले आम उपभोक्ताको स्वस्थ बाँच्ने र स्वच्छ प्रतिस्पर्धा गर्न पाउने सबैधानिक अधिकार समेत हनन् भइरहेको महासंघले जनाएको छ ।
‘यस गम्भीर परिस्थितिको बीचमा राज्यको मूल प्रवाहको नेतृत्व गरिरहनुभएको सम्माननीय प्रधानमन्त्री समक्ष, आम उपभोक्ताले भोग्नुपरेको समस्या समाधानको तत्काल पहल गर्न जोडदार माग गर्दछौँ ।’ – ज्ञापनपत्रमा उल्लेख छ ।
महासंघले विषादीयुक्त, म्याद गुज्रेका, गुणस्तरहीन खाद्य सामग्री तत्काल जफत गरी त्यस्ता व्यवसायीलाई कानुनी दायरामा राख्न लगायत विभिन्न ३५ बुँदे माग राखेको छ ।








