महिलालाई सशक्त बनाउँदै साप्ताहिक हाट बजार

बर्दिबास गौशाला १ रामनर चिनिमिल टोलकी ३० वर्षिया उषाकुमारी बर्दिबासको साप्ताहिक हाट लागेका दिन हरियो तरकारी बेच्न आउछिन् । बुधबारे हाटमा उनले आज १ मन मुला (४० केजी) र ६ पसेरी (३० केजी) बेच्न ल्याएकी छन् ।

बिक्रीमा राखिएका उनका आफ्नै खेतमा उत्पादित तरकारी हुन् । श्रीमान् रामसजन तरकारी उत्पादन गर्छन् र उषाकुमारी नजिकका साप्ताहिक हाटमा लगेर बेच्छिन् । चाड पर्व नजिकिने क्रमसँगै तरकारीको माग बढेकाले शनिबार उनी तरकारी बेच्दै आएकी छन् । यस पटक राम्रो वर्षा नभएको र सिँचाइको सुविधा नपुगेकाले सोचेजस्तो तरकारी उत्पादन नभएको उनको भनाई छ । तरकारीको मूल्य राम्रो भएकाले घाटा नभएको उनले बताइन् ।

उषाको आमनेसामने बर्दिबास ३ पर्साइधापकी ३२ वर्षिया लक्ष्मी माझीले बारीको बोटमा फलेका एक बोरा कागती बेच्न ल्याएकी छन् । पर्साइधाप सिन्धुलीसँग जुटेको बर्दिबास नगरको सुदूर उत्तरवर्ती गाउँ हो । असार महिनाताका लक्ष्मीले जङ्गली तरकारी काली निगुरो, गुरखाको साग, झिमनी यही हाटमा बेचिन् ।

त्यसबेला तरकारी बेचेर तीस चालिस हजार जति कमाई भएको बताइन् । कागती प्रशस्त फलेकाले राम्रो मूल्य पाए नजिकिँदो दशैको किनमेलमा सघाउ पुग्ने उनको आशा छ ।

लक्ष्मीको दायाँ बायाँ बर्दिबास ४ टुटेश्वरकी पवित्रा आले र मञ्जु श्रेष्ठ, भवसीकी मिनादेवी, आशा पूर्वछाने पनि आफ्नै बारीमा फलेका कलिला फर्सी, मुन्टा, लौका, घिरौँला, हरिया खुर्सानी लगायतका तरकारीको पसल सजाएर बसेकी छन् ।

बर्दिबास हाटमा पसल थाप्नेमा तरकारी बेच्ने महिला व्यापारीको सङ्ख्या बढदोक्रममा छ । शनिबारे हाटमा हरिया तरकारीका १ सय ४८ साना पसल थापिएकोमा ८४ पसलका विक्रेता महिला छन् ।

स्थानीय जेष्ठ नागरिकका अनुसार दशक अघिसम्म पनि बजारमा महिला व्यापारीको पहुँच अहिलेजस्तो थिएन । सीमान्त गाउँपालिका समसी ४ स्थित पर्सादेवाडका ७८ वर्षीय विष्णु चौधरीको अनुभवमा विगत केही समयले बजार अर्थतन्त्रमा महिलाको सहभागिता बढाएको छ ।

खाद्यान्न व्यापारको सिलसिलामा २०२२ सालदेखि बर्दिबाससँग साइनो गाँस्नु भएका उनका अनुसार तराईका बजारमा त्यतिबेला महिला हत्तपत्त बजारमा देखा पर्दैन थिए । घुम्टो ओढ्ने प्रचलन थियो । बजार जानुपर्दा साथमा पुरुष संरक्षक हुन्थे ।

‘अब समाज धेरै अघि बढी सक्यो’ उनले भनिन्, ‘महिला अब निर्धक्क बजार आउँछन्, सामान बेच्छन् र किनमेल गरेर घर फर्कन्छन्, कुनै छेकबार छैन ।’  जिल्लास्थित कृषि कार्यालयले प्रकाशित गरेको एक तथ्याङ्कअनुसार महोत्तरीका १५ वटै स्थानीय तहमा ७४ वटा कृषिउपज बजार छन् । अधिकांश बजार साताको दुई दिन लाग्ने गरेको छ । जिल्लाका सबै हाट बजारमा महिला व्यापारीको सङ्ख्या बाक्लिदैगएको छ ।

मधेस प्रदेशका सांसद शारदा थापाको भनाइमा यस्ता हाटबजारले गृहिणी महिलालाई समाजसँग जोड्ने काम गरेको छ । स्वावलम्बी र आत्मनिर्भर बन्न चाहने महिलाका लागि साप्ताहिक हाटबजार भरपर्दो माध्यम बनेको उनको बुझाई छ ।  तर राज्यको लगानीविना आत्मनिर्भरतर्फ उन्मुख यी महिलाका हितमा सरकारले ध्यान नदिएको उनको बुझाई छ । गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *