सुपर लघुवित्त समस्याग्रस्त घोषणा, अध्यक्ष र सञ्चालकले ऋणको दुरुपयोग गरेको पुष्टि

नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको अध्यक्ष र सञ्चालकबाट ऋणको दुरुपयोग भएको पाइएपछि संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।

दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको लघुवित्तको असार २०७८ को वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण गरिएको थियो । विशेष निरीक्षणमा संस्थाको सञ्चालक समितिको अध्यक्ष र सञ्चालकबाट ऋणको दुरुपयोग भएको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

‘सुपर लघुवित्तको २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरूपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको र प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख), (घ), (च) तथा (ञ) को अवस्था विद्यमान रहेको देखिएकाले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको राष्ट्र बैंक ले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *