सरकारले आजबाट कुनै पनि सरुवा, बढुवा, नियुक्ति गर्न पाउँदैन : आयोग

सरकारले  सोमबारदेखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ।

निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले आजबाट कर्मचारीको सरुवा, बढुवा, नियुक्तिलगायतका कुनै पनि काम गर्न नपाउने भएको हो ।

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न भदौ २ गते आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

सोमबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारलाई १८ दिनको समय दिएको पनि स्पष्ट पारे ।

निर्वाचन आयोगले यस अघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरुमा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ ।

कर्मचारीहरुलाई निर्वाचन प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लाहरुमा सो कमिटीको पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताए ।

निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ। आगामी मंसीर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *