ज्योति विकास बैंकद्वारा पाँच “बिजनेस इन्क्युवेसन सेन्टर” स्थापनामा सहयोग

ज्योति विकास बैंकले देशका ५ विभिन्न सरकारी कलेजहरुमा “बिजनेस इन्क्युवेसन सेन्टर” स्थापना गर्ने परियोजनामा सहकार्य गर्नका लागि युथ स्किल ल्याबसंग सम्झौता गरेको छ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत उक्त सम्झौता गरेको हो ।

आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र युथ स्किल ल्याबका तर्फबाट स्किल ल्याबका संस्थापक निर्देशक नन्द किशोर मण्डलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम ज्योति विकास बैंकले ५ वटा सरकारी कलेजमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि बिजनेस इन्क्युवेसन सेन्टर स्थापना गर्न सहयोग गर्नेछ। उक्त बिजनेस इन्क्युवेसन सेन्टर मा विधार्थीहरुले निशुल्क रुपमा उद्यमशीलता तालिम, विकास र संचालनमा सहयोगको साथै उद्यम सुचारु गर्न लगानीकर्तासंग सहकार्यको अवसर पनि प्राप्त गर्नेछन्। सहकार्यको साझेदार युथ स्किल ल्याबले यस कार्यक्रम संचालन र व्यवस्थापन गर्नेछ ।

बैंकले संस्थागत रुपमा नै उद्यमशील वातावरण सिर्जना गरी उद्यमशीलताको विकास गर्न, कलेजमा अध्ययनरत विद्यार्थीहरुको नवीन विचारहरूलाई अवधारणाबाट वास्तविक गति दिन तथा त्यस्ता विद्यार्थीहरुलाई स्वरोजगार उन्मुख बनाई दीर्घकालीन लाभ सिर्जना गर्ने उद्देश्यसहित सो परियोजनामा सहकार्य गरेको हो। उद्यमशीलता विकासले देशको अर्थतन्त्रमा दिगो योगदान पुर्याउने र दक्ष युवाहरुलाई अवसर प्रदान गर्ने सोचका साथ बैंकले बिजनेस इन्क्युवेसन सेन्टर स्थापना गर्ने पहल अघि सारेको हो। देशका विभिन्न ठाउँबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई उद्यमी बनाउँदा ती ठाउँहरुको विकासमा पनि सहयोग हुने अपेक्षा बैंकले राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *