बाइकमा ‘मोबाइल स्ट्यान्ड’ हटाउन ट्राफिक प्रहरीको निर्देशन

उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्नेमाथि कारबाही अभियान थाल्ने तयारी गरेको हो ।पछिल्लो समय ‘राइड सेयरिङ’ गर्ने बाइकचालकले ‘मोबाइल स्ट्यान्ड’ प्रयोग गर्दै आएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘राइड सेयरिङ’ एप कम्पनीलाई पत्र लेख्दै ‘स्ट्यान्ड’ हटाउन निर्देशनसमेत दिएको छ ।

म्याप हेर्न वा फोटो/भिडिओ खिच्नका लागि बाइकमा माेबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएकाे भन्दै ट्राफिक प्रहरीले देशैभर यसकाे प्रयाेगमा निषेध गरेकाे हाे ।

मोबाइल स्ट्यान्डले दुर्घटना जोखिम बढाएको ट्राफिक प्रहरीको निष्कर्ष छ । यस्ता स्ट्यान्डले ‘बाइक मोडिफिकेसन’ भएको ठहरसमेत उसले गरेको छ । ट्राफिक प्रहरीले दुर्घटना जोखिम बढेकाले बाइकमा स्ट्यान्ड र मोबाइल अड्याउने कुनै पनि प्रकारका वस्तु नराख्न निर्देशन दिएको हो ।

“मोबाइल हेर्दै बाइक सवारी चलाउँदा दुर्घटना बढ्ने सम्भावना हुन्छ,”  ट्राफिक प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भने, “यसै पनि ड्राइभिङ गर्दा मोबाइल फोन प्रयोग गर्नु गैरकानूनी हो । चालकले एक हातले बाइक थाम्ने अर्को हातले मोबाइल चलाउने हुँदा सवारी दुर्घटनाको जोखिम बढेका छन् । एउटा जोखिम त्यो भयो, अर्को भनेको कानून अनुसार राख्नै पाउँदैनन् ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *