धरान पुगेर हर्क सम्पाङसँगै प्रचण्डले गरे वृक्षरोपण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङको वृक्षरोपन अभियानमा सहभागी भएका छन् । आज (शुक्रबार) धरानको ओसो पार्कमा भएको वृक्षरोपण कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् ।

वृक्षारोपण गर्दै प्रचण्डले मेयर साम्पाङले गरेका काम देशका सबै जनता र श्रमजीवीका लागि प्ररणदायी भएको बताए । ‘सिंगै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ । हामी कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नुपर्ने काम उहाँले गरिराख्नु भएको छ’, उनले भने, ‘म पार्टीका साथीहरु र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कको व्यवहार बाट, उहाँको आचरणबाट प्रेरणा लिन म अनुरोध गर्न चाहान्छु ।’

जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रमलगायतमा सहभागी हुन धरान पुगेका प्रचण्डले वृक्षारोपण गर्दै भने, ‘मैले आज यो वृक्षारोपण गर्दै गर्दा नेपालका एकजना प्रगतिशिल गीतकार पनि, असाध्यै लोकप्रिय जेबी टुहुरेलाई सम्झेको छु । आज जेबी टुहुरेको स्मृति दिवसको दिन पनि हो । र मेरो यो वृक्षारोपण उहाँकै लागि समर्पित भएको म घोषणा गर्न चाहान्छु ।’

दुई साता अघि मेयर साम्पाङ काठमाडौं आएका बेला खुमलटार पुगेर प्रचण्डलाई श्रमदानको लागि निम्तो दिएका थिए । सो क्रममा प्रचण्डले छिट्टै श्रमदानका लागि धरान आउने बाचा गरेका थिए । आज धरान पुगेर साम्पाङसँगै वृक्षरोपण गरेर प्रचण्डले सो बाचा पुरा गरेका छन् । सो अवसरमा मेयर साम्पाङसँगै धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *