अस्पतालको सेवा बन्द भएपछि नगरपालिकाका सर्वसाधारण मार्कामा परेका छन । कायममुकायम प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव एक महिनादेखि सम्पर्कविहीन भएपछि आर्थिक वर्ष ०७९र०८० को नगरसभा हुन सकेको छैन । नगर परिषद् बैठक आयोजना हुन नसक्दा करार सेवामा नियुक्त गरिएका स्वास्थ्यकर्मीको म्याद थप गर्न नसकिएकाले उनीहरूलाई अवकाश दिएको नगर प्रमुख जालन्धर सिंहले बताए ।
नगर प्रमुख सिंहले नगर अस्पतालका सबै स्वास्थ्य सेवा, नगरअन्तर्गतका ‘बर्थिङ सेन्टर’ र नगरपालिकाको वडा नम्बर-१ पिपरपातीमा रहेको प्रयोगशालाको सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएको जानकारी दिए । ती सबैमा करारका कर्मचारीले स्वास्थ्य सेवा दिँदै आएका थिए । ‘२३ जना स्वास्थ्यका करारका कर्मचारीमध्ये २२ जनाले म्याद थप नगरिएकोले छोडिसके,’ नगर प्रमुख सिंहले भने, ‘नगरसभा नै नभएपछि करारका कर्मचारीलाई राखिराख्ने कानुनी आधार छैन, त्यसैले कर्मचारी अभावमा नचाहँदा नचाहँदै पनि स्वास्थ्य सेवा बाध्य भएर बन्द गर्नु पर्ने अवस्था आयो ।’
प्रशासकीय अधिकृत नहुँदा बजेटसँगै करारका अन्य कर्मचारीलाई चालू वर्षमा थप्नु पर्ने करार अवधिको म्याद पनि थप हुन नसकेपछि नगरस्तरीय अस्पतालको सम्पूर्ण स्वास्थ्य सेवा मंगलबारदेखि बन्द गरिएको छ । पचरौता नगरपालिकाका नगरसभा हुन नसकेपछि पालिकाले चालू आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम र बजेट पनि ल्याउन सकेको छैन ।
प्रशासकीय अधिकृत यादव सम्पर्कविहीन भएपछि अर्को अधिकृतका लागि मन्त्रालयमा ५-६ पटक पत्राचार गरे पनि वास्ता नगरेको नगर प्रमुख सिंहले बताए । उनका अनुसार सामान्य प्रशासन मन्त्रालयमा पुगेर पटकपटक आग्रह गर्दा पनि नगरपालिकामा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउन आनाकानी गर्दै आएको छ । प्रशासकीय अधिकृत नहुँदा कर्मचारीलाई तलब दिन पनि नपाइएको उनको भनाइ छ ।







