नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सकेसम्म एक हुने बताएका छन् । जसपाबाट हालै पदमुक्त गरिएका डा. भट्टराईसँग आज सिंहदरबारमा भएको भेटपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले आफूहरुबीच राजनीतिक विषयमा कुराकानी भएको बताए ।
पत्रकारहरुले ‘तपाईंहरु एक हुने हो ?’ भनेर सोधेको प्रश्नमा संक्षिप्त जवाफ दिँदै उनले भने, ‘सकेसम्म एक हुने हो ।’ ७ वर्षअघि माओवादी परित्याग गरेर नयाँ शक्ति गठन गरेका डा भट्टराई त्यसपछि एकता प्रक्रियामार्फत समाजवादी पार्टी र जसपाको संघीय परिषद् अध्यक्ष भइसकेका छन् ।
तर जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग दुरी बढ्दै गएपछि उनले प्रचण्डसँग संवाद अघि बढाएका छन् । यसअघि २ नेताबीच उपराष्ट्रपति नन्दबहादुर पनुको निवासमा पटक पटक छलफल तथा वार्त भएका थिए ।
प्रचण्डले पटक पटक पूर्वमाओवादी नेताहरु एक ठाउँमा आउनुपर्ने बताउँदै आएका छन् । तर पार्टी छाड्ने बेलामा माओवादीलाई रातो स्टिकर टाँसिएको घरको संज्ञा दिएका भट्टराईले भने यसबारे खासै खुल्दैनन् । तर, ७ वर्षयताका विभिन्न प्रयोगहरु असफल भइसकेको चर्चाबीच उनी माओवादीमा फर्किने वा वामपन्थीहरुलाई मिलाएर नयाँ पार्टी बनाउने आकलन हुँदै आएको छ ।







