भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको छ ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटमा आन्तरिक आय १ अर्व ५० करोड, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्व ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान छ ।
यस्तै जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्व ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड आउने प्रक्षेपण उनले गरेका छन् ।
महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरुका लागि १ अर्व ३० करोड बजेट विनियोजन गरेको छ । महानगरका २९ वटा वडालाई सम्वन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन भएको छ ।
भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेटका प्राथमिकताको क्षेत्रमा शहरी पूर्वाधार, भूउपयोग तथा वस्ती विकास र अधुरा योजनाहरुको निरन्तरतालाई राखेको छ ।
महागनरले कृषि र पशु विकास, शिक्षा विकास, मर्मत सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाई एवम् हरियाली तथा विपद् व्यवस्थापनलाई क्रमशः प्राथमकितामा राखेको बजेटमा देखिन्छ ।
ठूला र रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न संघ तथा प्रदेश सरकारको स्रोतसँग समपुरक साझेदारी कोष स्थापना गर्न ६ करोड, मुख्य शहरी क्षेत्रमा ढल निर्माण, विद्युतिय बस खरिद, सार्वजनिक शौचालय निर्माण, ओभर हेड ब्रिज, परियोजना बैंक निर्माण, लगायतका अन्य पूर्वाधारका लागि २८ करोड, कृषि तथा पशु विकासका लागि १५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै शिक्षाका पूर्वाधार तथा दक्षता अभिवृद्धिका लागि १३ करोड, नियमित मर्मत संम्भारका लागि ८ करोड, विभिन्न स्वास्थ्य कार्यक्रम तथा नीति कार्यान्वयनका लागि ७ करोड, मासिक ७ हजार लिटर खानेपानी निशुल्क उपलब्ध गराए वापत खानेपानी बोर्डलाई भुक्तानी दिन ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।







