एसपीपीबारे छलफल गर्न बोलाइएको संसद्को अन्तर्राष्ट्रिय समितिमा प्रधानमन्त्री अनुपस्थित

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् । अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र निकट भविष्यमा हुन लागेको अमेरिका भ्रमणबारे छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो ।

तर प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् । प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको पनि खरेलले बताइन् ।

हिजो बेलुकासम्म आउने कुरा गरेको तर आज बिहान प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाले आउन नभ्याउने भनेर जानकारी गराएको खरेलको भनाइ छ । आज बिहानभर पनि प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेर कोसिस गरेको तर नसकेको उनले बताइन् ।

गत शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही बैठकमा सहभागी भएका परराष्ट्रमन्त्री डा। नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका थिए ।

एसपीपीमा अब उप्रान्त नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन पनि समितिले निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *