१५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी उत्पादन नै खरिद गर्नुपर्ने कानुनी व्यवस्थालाई लत्याउँदै हिमालयन बैंकले आफ्ना कर्मचारीलाई आवश्यक पर्ने ड्रेसको कपडा भारतीय ब्रान्डको मात्रै किन्ने गरी सूचना प्रकाशित गरेको छ ।
नेपालमा दर्जनौं कपडा उद्योग सञ्चालनमा छन् । ती उद्योगले गुणस्तरीय कपडा उत्पादन गर्दै आएका छन् । तर, ती कम्पनीलाई बोलपत्र टेन्डर मै भाग लिन नसक्ने गरी सूचना प्रकाशित गरिएको छ । हिमालयन बैंकले आफ्ना कर्मचारीका लागि कोट, पेन्ट र सर्ट खरिदका लागि सूचना प्रकाशित गरेको हो ।
प्रकाशित सूचनाअनुसार हिमालयन बैंकले ६३७ सेट कपडा किन्न लागेको हो । उक्त सूचनामा भनिएको छ, ‘आर्थिक वर्ष ०७९र०८० का लागि एनी इन्डियन ब्रान्ड चाहिन्छ ।’ यसको अर्थ भारतमा उत्पादन भएका जुनसुकै ब्रान्डले हिमालयन बैंकको बोलपत्रमा सहभागी हुन पाउने छन् । त्यसबाहेक नेपाली ब्रान्डलाई टेन्डरमै सहभागी हुन सक्दैनन् ।
हिमालयन बैंक स्रोतका अनुसार नेपाली ब्रान्ड किन्दा आर्थिक चलखेल हुने सम्भावना अत्यन्तै न्यून हुने र भारतीय ब्रान्ड किन्दा बढी आर्थिक चलखेल गर्न पाइने भएकाले यस्तो गरिएको हो ।







