अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । बुधबार बिहान अर्थ मन्त्रालयमा भएको भेटमा आगामी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिका सम्बन्धमा छलफल भएको छ ।
छलफलमा अर्थमन्त्री शर्माले आगामी आवको बजेटको लक्ष्यलाई प्राप्त गर्ने गरी मौद्रिक नीति आउनु पर्ने बताएका थिए । मन्त्रालय स्रोतका अनुसार गभर्नर अधिकारीले बजेटलाई समर्थन हुने गरी मौद्रिक नीति आउने बताएका छन् ।
आगामी आर्थिक वर्ष सुरु हुनु अगाडि नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नेछ । यसका लागि राष्ट्र बैंकले सरोकारवालाबाट सुझाव समेत संकलन सुरु गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, स्वदेशी उद्योगलाई प्राथमिकता, कृषिमा लगानी वृद्धिको लक्ष्य लिएको छ । यसका माध्यमबाट ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ ।
मुद्रास्फीति समेत ७ प्रतिशत भित्र राख्ने लक्ष्य सरकारको छ । यो लक्ष्य प्राप्त गर्न मौद्रिक क्षेत्राबाट राष्ट्र बैंकले लिने नीतिहरु महत्वपूर्ण हुन्छन् ।







