बञ्चरेडाँडामा बल प्रयोग गरेरै फोहर लगिँदै, अवरोध गर्ने १४ जना स्थानीयवासी पक्राउ

काठमाडौंबाट फोहर लिएर गएका गाडीलाई बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले रोकेपछि प्रहरीले बल प्रयोग गरी अवरोध हटाएको छ ।

सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका पालिकाहरू धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सहमतिपछि फोहर लिएर गएका गाडीलाई स्थानीयवासीले रोकेपछि अवराेध हटाइएकाे नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रामप्रकाश साहले जानकारी दिए । अवरोध हटाउने क्रममा १४ जनालाई पक्राउ गरेको उनले बताए ।

धुनिबेसी नगरपालिका वडा नम्बर १ र ककनी गाउँपालिका वडा नम्बर ३ का क्षेत्रमा प्रहरीले अवरोध हटाएको हो । अहिले पनि त्यहाँको अवस्था सामान्य नरहेको स्थानीयवासीले बताएका छन् ।

एसपी साहले भने केही स्थानीयवासीले फोहर बोक्ने गाडी रोकेका र प्रहरीले सामान्य बल प्रयोग गरेर हटाएको भन्दै झन्डै एक सय ३० वटा गाडी बञ्चरेडाँडातर्फ गइरहेको बताए । ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाले यसअघिको सम्झौता कार्यान्वयन भएपछि मात्रै फोहर लैजान दिने बताएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *