कीर्तिपुरमा एक जना युवकको हत्या भएको छ । आइतबार अपराह्नमा कीर्तिपुर नगरपालिका ढल्पाको सडकमा एक युवकको साथीको कुटपिटबाट हत्या भएको प्रहरीले जनाएको छ ।
कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उदयपुर घर भई कीर्तिपुरको मच्छेगाउँ बस्ने २९ वर्षीय अरूण खत्रीको हत्या गरेको आरोपमा प्रहरीले कीर्तिपुर नगरपालिका-३ बस्ने २६ वर्षीय अजय नापित र वडा नम्बर-१० बस्ने २२ वर्षीय सन्तोष महर्जनलाई पक्राउ गरेको हो ।
अपराह्न ४ बजेतिर दुई युवक महर्जन र नापितले खत्रीमाथि कुटपिट गरिरहेको भन्ने प्रहरीलाई खबर प्राप्त भएको र प्रहरी टोली घटनास्थल पुगेर घाइते खत्रीलाई नजिकैको कीर्तिपुर अस्पताल पुर्याएकोमा उनको पचारको क्रममा ज्यान गएको हो ।
घटनास्थलबाटै प्रहरीले आरोपित दुई जनालाई पनि नियन्त्रणमा लिएको छ । उनीहरू साथी नै भएको प्रहरीले जनाएको छ । दुई जना साथीले एक जनामाथि कुटपिट गरेको प्रहरीको भनाइ छ ।
मृतक आफैंले पनि लागूऔषधको प्रयोग गर्ने गरेको र आरोपित व्यक्तिहरूले पनि प्रयोग गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतकको साथबाट १६० एम्पुल लागूऔषध बरामद गरेको छ । दुई युवकले त्यही लागूऔषध लुट्ने क्रममा कुटपिट गरी हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।






